Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्वाचन आयोगको  निर्देशन

राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्वाचन आयोगको  निर्देशन

  • बुधवार, माघ ३ २०८०

  • 682
    SHARES

  • राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्वाचन आयोगको  निर्देशन
    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न/गराउन सरकारलाई विभिन्न निर्देशन दिएको छ।
     
    आयोगले मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थल लगायत निर्वाचनमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै उक्त निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनलाई विश्वसनीय र भरपर्दो बनाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो।
     
    निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट सिफारिस समेतका आधारमा बुधबार बसेको आयोगको बैठकबाट नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशनहरू दिने निर्णय गरेको हो।
     
    निर्वाचन आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्देशन दिइएको छ। त्यस्तै, राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउने निर्देशन पनि गरिएको छ।
     
    ‘प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउने,’ आयोगको निर्णयमा भनिएको छ।
     
    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफू रहेका स्थानीय तह वा जिल्लाबाट मतदान स्थल तोकिएको प्रदेश राजधानीसम्म र प्रदेश राजधानीमा निज बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ।
     
    ‘निर्वाचक मण्डलका सदस्य मतदाताहरूलाई मतदान स्थल रहेको मोरङको विराटनगर, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कास्कीको पोखरा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीमा होटेल व्यवसायीहरूसँग समन्वय गरी मतदाताहरूको निजी खर्चमा बसोबासको प्रबन्ध मिलाउन आवश्यक समन्वय गर्ने,’ निर्देशनमा भनिएको छ।
     
    उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउने र राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि तोकिएका मतदान स्थल तथा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा प्रबन्ध मिलाउने भनिएको छ।


    बुधवार, माघ ३ २०८००३:०९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij