काठमाडौं। आज माघ २ गते, नेपालमा भूकम्पको जोखिम सम्झने दिन। विसं. १९९० सालमा भारतको मधुवनी जिल्लामा केन्द्रबिन्दु भएको ८.० रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालमा ठूलो असर गरेको थियो। त्यस घटनामा काठमाडौं उपत्यकालगायत पूर्वी नेपालमा ठूलो जनधनको क्षति भयो।
यसलाई नेपालमा विनाशकारी भूकम्पको एक प्रतीक मानेर भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ । आज पनि नेपालमा २६ औँ भूकम्प दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइएको छ । भारतीय प्लेट र तिब्बतीयन प्लेटको घर्षणका कारण नेपाल जुनसुकै बेला पनि जोखिममा रहेको प्रकोपविद् डा. दीपकविक्रम थापा क्षेत्रीको भनाइ छ।
९० साल पछि २०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्ला केन्द्र भएर करिब ६.४ म्याग्निच्यूटको भूकम्प भएको थियो । त्यसले सुदूरपश्चिमका बझाङ, दार्चुला, बाजुरा बैतडी जिल्लाहरूमा कम्तिमा २ हजार ५ सय घरबास भत्केका थिए यसमा १ सय २५ जना मानिसले ज्यान गुमाएको र २ सय ४८ जना घाइते भएका थिए ।
०४५ साल भदौ ५ मा उदयपुरको मर्कुची आसपास केन्द्र बनाएर गएको ६.७ तिब्रताको भूकम्पमा देशभर गरी कम्तिमा ७५० जनाको ज्यान गएको थियो । हालसम्म आएर भूकम्प जोखिम कम गर्न नीति, प्रविधि र अभ्यासमा उल्लेख्य प्रगति भएका छन् । ०५१ सालमा राष्ट्रिय भवन संहिता समेत तयार भएको थियो ।
ईन्जिनियरिङ जियोलोजिष्ट रञ्जनकुमार दाहालका अनुसार भवन निर्माण आगामी एकसय वर्षको आंकलन गर्नुपर्ने हुन्छ। माटो परिक्षण गरी स्थानीय पालिकाहरुले भवन निर्माणमा कडाइ गर्न आवश्यक रहेको छ।
भूकम्पविद सुवोध ढकालका अनुसार नेपालमा भूकम्पबाट हिमालय क्षेत्र बढी जोखिममा रहेको छ । विशेषगरी पोखरा र पश्चिममा क्षेत्रमा ५ सय २५ वर्षसम्म भूकम्प नभएकोले त्यसले गरेको शक्ति संचय जतिबेला पनि विस्फोट हुने खतरा बढेको छ ।
सन् २०१० मा हैटीमा भूकम्प भएपछि अन्तर्राष्ट्रिय समुदायले अब अर्को घटना नेपालमा हुन सक्छ भन्ने अनुमान गरेका थिए । तदनुरुप पूर्वतयारीका लागि छलफल र केही प्रयासहरू भए । २०७२ सालको भूकम्पपछि विपद् जोखिम कम गर्न र भूकम्पको प्रभावकारी सामना गर्न धेरै प्रयास गर्न आवश्यक छ भन्ने पुष्टि भएको छ।