काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको हो ।
गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले गोविन्द आचार्यले जनाउनुभएको छ ।
उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय जाँचबुझ आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन आइतबार निर्देशन दिनुभएको थियो।
आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा समेत प्रचण्डले आयोग गठनका लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी गराउनुभएको थियो।
कोरियाली भाषा परीक्षामा सहभागी हुन नपाएको विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु भएको थियो । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सरकारी गाडीमा आगजनी भएको थियो ।
गृह मन्त्रालयले सोही दिन घटनाको छानबिनका लागि समिति गठन गरेको थियो । सरकारले मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ दिने घोषणासमेत गरिसकेको छ ।