काठमाडौं । कात्तिक १७ गते शुक्रवार राती ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम पीडामा छ । भूकम्पबाट १ सय ५४ जनाको ज्यान गएको छ भने सयौँ नागरिक घाइते भएका छन् । धेरै नागरिक घरबार विहीन बनेका छन् । बुढापाका, सुत्केरी बालबालिका अहिले थप पीडामा बाच्न बाध्य बनेका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिका अनुसार बिस्तारै चिसो बढ्दै गएको छ । भूकम्पको त्राहिमाममा परेका नागरिक चिसोका कारण थप प्रताडित बनेका छन् ।
भूकम्पले सबैभन्दा धेरै क्षति गरेको नलगाडस्थित नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । चिसो बढ्दै जाँदा विभिन्न किसिमका रोग, संक्रमण देखा पर्न थालेका छन् । नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतका अनुसार केही घर टहरा निर्माण गर्ने क्रम चलिरहेको छ । नागरिकलाई बचाउनका लागि स्थानीय तहले सकेको गरिरहेको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकालले प्रहरी पीडामा रहेका नागरिकको साथी बनेर उभिएको बताउनुभयो । उहाँले गाह्रो पर्दा प्रहरीले समन्वय गरिरहेको पनि दाबी गर्नुभयो ।
भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई संघ र प्रदेश सरकारबाट दुई–दुई लाख रुपैयाँ तत्काल दिने भनिएपनि हालसम्म पीडितले पाएका छैनन् । पीडामा सारथि बन्नुपर्ने सरकार नै उदासीन हुँदा जनता निराश बनेका छन् । ओत थाम्न नसक्ने त्रिपालमाथि हिउँ परेमा निकै कष्ट हुने देखिन्छ । नियम कानून बिस्तारै मिलाउँदै नागरिकको ज्यान जोगाउनु प्रमुख आवश्यकता हो ।