काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना नगरेका कारण नेपालका मन्त्रीसहित उच्च ओहदामा रहेका व्यक्तिहरु कोरोना भाइरसको सिकार बन्न पुगेका बताएको छ।
उच्च सुरक्षा सतर्कता अपनाएर समाजलाई पनि सही सन्देश दिनुपर्ने व्यक्तिहरुले नै जनस्वास्थ्य मापदण्ड पालना नगर्दा आफै पनि संक्रमित भएर जनतामा नराम्रो सन्देश अभिव्यक्त भएको मन्त्रालयले बताएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्डको पालना नगरेका कारण भिआइपीहरु कोरोना संक्रमणको शिकार बनेको बताउनुभयो।
जनस्वास्थ्य मापदण्डको पालना गरेर कोरोना संक्रमणले छुने कुनै सम्भावना नहुने उहाँले बताउनुभयो।
पछिल्लो दुई दिनमा दिनमा नेपालका दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि भएको हो भने आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि कोरोना भाइरसको शिकार हुनुभएको छ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका ७० जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रधानमन्त्रीको नजिक रहेर काम गर्ने तीनजना सल्लाहकारहरुलाई समेत कोरोना पुष्टि भएको थियो।
मन्त्रीहरुले नै जनस्वास्थ्यको मापदण्ड पालना नगरेर संक्रमित हुनुु मुलुकका लागि विडम्बनाको स्थिति रहेको जनस्वास्थ्यविद डा. बाबुराम मरासिनीले बताउनुभयो।
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ।
शनिबार मन्त्री पोखरेलले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो। त्यसक्रममा मन्त्री पोखरेलले ज्वरो कम गर्ने औषधि समेत सेवन गरेको उच्च श्रोतको दाबी छ।
ज्वरो कम नभएपछि मात्रै मन्त्री पोखरेल अस्पताल गएको र कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्रीसहितका भिआइपीहरुले मास्कको प्रयोग नगरेको, जथाभावी भिडभाडमा गएको र आफ्नै निवासमा पनि छलफल तथा अन्तर्क्रिया गरेकाले संक्रमण भएको हुन सक्ने जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले बताउनुभयो।
मन्त्रीहरुले जनस्वास्थ्य मापदण्डको पालना नगरेको पाइएको उहाँको बताउनुभयो।
डा. पाण्डेले कोरोना भाइरसको संक्रमण डरलाग्दो ढंगले फैलिरहेकाले जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो।
समुदायस्तरमा फैलिसकेको कोरोनाले मानिसलाई विभेद नगरी आक्रमण गर्ने भएकोले भिआइपीहरुलाई पनि लापर्वाही नगर्न उहाँले सुझाव दिनुभयो।
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबकार मात्रै उहाँलाई भेट्नुभएका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वत्रा पनि सेल्फ क्वारेन्टिमा बस्नुभएको छ।
राजदूत क्वत्रासँगको भेटका क्रममा पनि मन्त्री भट्टराईले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको छ।