काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चीन गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको छ ।
चीनमा रहँदा नेपाली टोलीले समूह चरणमा शतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो । पहिलो खेलमा मंगोलियाविरुद्ध टी—२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।
क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट वञ्चित हुँदै नेपाल फर्किएको हो ।
स्वदेश फर्किएपछि टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नु परेको उनले सुनाए ।