काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय अनुसार चल्न सुझाएका छन् । ओलीले जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताहरुसहितले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि आज मन्त्रीहरुसँग सल्लाह गर्नुभएको थियो ।
छलफलमा अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार गरेर अघि बढ्न सुझाव दिएको बैठकपछि कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । मन्त्रीले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको पनि बताएका थिए ।
छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको अपमानित गरिएको बताउनुभएको थियो । मन्त्रीहरुले ओलीलाई तपाई बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ, तपाईं कमजोर हुँदा राष्ट्रिय हित कमजोर हुने भएकाले पार्टीकै निर्णयमा अगाडी बढ्न सुझाव दिएको मन्त्री भुसालको भनाई छ ।
बुधवारको छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्ट लगायतका नेताहरुले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए । बिहीबार ११ बजे बस्ने स्थायी कमिटी बैठकमा पनि राजीनामाकै विषयले प्रधानता पाउने देखिएको छ ।