काठमाडौं। विद्यालय शिक्षा सम्वन्धि कानूनलाई संशोधन गर्ने विधेयक ‘विद्यालय शिक्षा ऐन २०८०‘ गत बुधबार प्रतिनिधिसभामा दर्ता भएको छ।मन्त्रिपरिषद बैठकले पारित गरेर संसदमा छलफलका लागी पठाएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संसद् सचिवालयमा दर्ता गरेको यो विधेयकको विरोध सुरु भएको छ।
विधेयकसँग असन्तुष्ट शिक्षकहरुले विरोधस्वरुप काठमाडौंको माइतीघरसहित देशका विभिन्न स्थानमा प्रदर्शनसमेत गर्न थालेका छन्। उनीहरुले संविधानले दिएको ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याइएको आरोप लगाएका छन्।आन्दोलनरत नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले विधेयकले शिक्षकहरुको अधिकार खोसेको भन्दै विधेयको ‘ड्राफ्ट’ जलाएर विरोध गर्नुपरेको बताउनुभयो।
त्यस्तै, विधेयकप्रति असन्तुष्ट नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले अब चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो।तुलाधरले विधेयक फिर्ता नलिए असोज ३गते संबिधान दिवसकै दिनदेखी विद्यालय बन्द गरेर आन्दोलनमा होमिन लागेको बताउनुभयो। यस्तै नेपाल अभिवाबक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको विधेयक एकपक्षिय रुपले ल्याईएको र जुन लोकतान्त्रीक नरहेको आरोप लगाउनु भयो।
नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष आरती लामाले समाजवाद उन्मुख संविधानसँग मेल खाने गरी शिक्षा विधेयक नआएको बताउनु भयो। यस्तै नेकपा एकिकृत समाजवादी पार्टी प्रमुख सचेतक मेटमणी चौधरीले अबको संसद बैठकमा छलफलका लागि लैजाने बताउनु भयो।
शिक्षाविद् विद्यानाथ कोइरालाले आन्दोलनरत शिक्षकहरुका आन्दोलन सम्बोधन गर्दै अहिले जारी सैद्धान्तीक शिक्षालाई व्यबहारीक बनाउने गरि विधेयक ल्याउनुपर्ने बताउनु भयो। प्रस्तुत विधेयकले ती विषय सम्बोधन गर्न नसक्ने बताउनुभयो।
यता आजै सरकारले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ। शिक्षा विधेयकका विरुद्धमा असोज ३ गतेदेखि विद्यालयको पठनपाठन नै ठप्प पारेर आन्दोलनमा होमिने घोषणा गरेपछी विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने सम्भावनालाई मध्यनजर गरेर सरकारले वार्तामा आउन आग्रह गरेको हो।
मुलतः विद्यमान शिक्षा प्रणालीलाई सुधार गर्नका निम्ति विधेयकले सम्बोधन गर्नुपर्दछ। यता पटकपटक शिक्षक कर्मचारीमा हुने ट्रेड युनियनका कारण पठनपाठनभन्दा बढी राजनीतिले प्रसय पाउदा विद्यार्थीको पठनपाठन पनि प्रभावित हुने गरेको छ। यो समस्या समाधान गरि नेपालमा जारी कोरा किताबी ज्ञान अर्थात सैद्धान्तिक पढाइ भन्दा व्यबहारिक पढाईमा जोड दिनुपर्ने आजको प्रमुख आवश्यकता हो ।।