बुटवल । प्रदेश नम्वर ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा वैठक मध्यान्ह : १२ बजेपछि वस्ने भएको छ ।
सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुने भन्ने प्रस्तावमाथिको छलफल हिजो सोमबार सकिएको थियो ।
सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराउनुु भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ ।
प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले आजको बैठकमा संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताउनुु भएको छ ।
आज मतदान प्रक्रियाबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने र प्रस्तावको पक्षमा दुई तिहाईभन्दा बढी मत प्राप्त हुने उहाँको भनाई छ ।
८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुख बाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।
जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन् त्यस्तै एक मात्र सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन ।
दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ।
आज बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।