काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुुभएको छ ।
‘विश्वको तुलनामा नेपालमा बलात्कार र महिला हिंसाको अवस्था चिन्ताजनक छैन’ भन्ने अभिव्यक्ति विवादमा आएपछि उहाँले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएका बताउनुुभएको हो। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताउनुुभयो ।
उहाँले गतबुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका दुई सय बढी मुलुकको तथ्यांक विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताउनुुभएको थियो। आजको बैठकमा उहाँले नेपालमा प्रतिदिन ६–७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताउनुुभयो । छलफलमा सांसदहरूले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफूले अब सजगता अपनाउने बताउनुुभएको हो ।
समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताउनुुभयो । विगत वर्षहरूको तथ्यांक हेर्दा यो वर्ष घटनाहरू बढ्न सक्ने उहाँको भनाइ छ ।
सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनीकरणका लागि शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको पनि उहाँको दाबी छ ।