काठमाडौं । प्रदेश ५ को राजधानीलाई लिएर रुपन्देहीमा भइरहेको प्रर्दशन हिंसात्मक बनेपछि राष्ट्रिय मानवअधिकार आयोगले विरोध कार्यक्रमहरुलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ ।
असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरूपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोतजस्ता कार्यहरू कुनै पनि दृष्टिकोणबाट उचित नभएको आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विरोधका कार्यक्रमहरूलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्णरूपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको हो ।
आयोगले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरूमाथि मर्यादित र संयमित व्यवहार गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा केही दिनयता प्रदर्शन भइरहेका छन् । बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनहरूमाथि भएको आगजनी तथा तोडफोडप्रति ध्यानाकर्षण भएको समेत आयोगले जनाएको छ ।