काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको बताउनुभएको छ ।
आइतबार पार्टी पत्रकारहरूको संस्था निकट समाजवादी प्रेस सङ्गठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले दलाल पुँजीवाद हर क्षेत्रमा हाबी हुँदा भ्रष्टाचार सङ्कट बढ्दै गएको बताउनुभयो ।
‘नेपाली जनताले विश्वास गरेर २०७४ को निर्वाचनमा वामपन्थीहरूलाई दुई तिहाइ मत दिए पनि त्यसपछि बनेको सरकारले जनभावनाअनुसार काम गर्न नसेको मात्रै होइन । संसद नै विघटन गरेपछि अस्थिरता सुरु भएको छ’, उहाँले भन्नुभयो, त्यसपछि भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन, यो जनतामा देखिएको चरम असन्तुष्टि हो ।’
उहाँले देश अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै यो एक किसिमको राजनीतिक सङ्कटका रूपमा रहेकाले पुँजीवादी शक्तिको जोडले बनाएका पद्धतिलाई बदल्न जरुरी रहेको बताउनुभयो ।