काठमाडौँ – सरकारले यस वर्षको दसैँ जो जहाँ छौँ त्यही रहेर मनाउन अपिल गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिमबाट बच्न यस वर्षको दसैँ जो जहाँ छौँ त्यहीँबाट मनाउन आम नागरिकमा अपिल गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैँ अर्काे वर्ष पनि मनाउन सकिने भएकोले यो वर्ष जो जहाँ छौँ त्यही रहन आग्रह गर्नुभयो।
तर दसैँ जो जहाँ छन् त्यही रहेर मनाउन स्वास्थ्य मन्त्रालयले गरेका आग्रहको स्पष्ट पालना हुन नसक्ने जनस्वास्थ्यविदहरुले बताएका छन्।
उनीहरुले महान पर्व मनाउन गाउँ जानेहरुको क्रम सानो नहुने भएकोले बरु जनस्वास्थ्य मापदण्डको पालनामा ध्यान दिनुपर्ने बताएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले लामो बिदामा रहेका मानिसहरु हिँडेरै भए पनि गाउँ जान खोज्ने विषय स्पष्ट रहेको बताउनुभयो।
बरु गाउँमा घरमै क्वारिन्टिनको उचित व्यवस्थापनका लागि स्थानीय सरकारमार्फत सहजीकरण गरिनुपर्ने उहाँको सुझाव छ।
जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले पनि कोरोनाको अति जोखिम रहेको काठमाडौँबाट गाउँ जान चाहनेहरुलाई रोक्न नहुने धारणा व्यक्त गर्नुभयो।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै पाण्डेले काठमाडौँ छाडेर जानु बढी सुरक्षित हुने बताउनुभयो।
काठमाडौँका अस्पतालहरु पनि कोरोना संक्रमितले भरिसकेका कारण भोलि अवस्था जटिल बन्न सक्ने उहाँको भनाइ छ।
यद्यपि दसैँमा टिका लगाएर फेरि तुरुन्तै काठमाडौँ फर्किने हो भने त यात्रा नगर्नु नै बुद्धिमानी हुने डा. पाण्डेको सुझाव छ।
उहाँले केही समय गाउँमै बस्ने हो भने मात्रै काठमाडौँ छाड्न सुझाव दिनुभयो। दसैँमा टिका लगाएर मात्रै फर्कने हो भने त्यसबाट कोरोनाको जोखिम निकै बढ्ने उहाँको भनाइ छ ।
महान पर्व दसैँ मनाउन गाउँ जानेहरुको क्रम सुरु भइसकेको छ। लाखौँको संख्यामा गाउँ जानेहरुले कोरोना पनि सँगै बोकेर जान सक्नेतर्फ चिन्ता व्यक्त गरिएको छ।
त्यसैले सरकारले अब जो जहाँ छौँ त्यही बसेर दसैँ मनाउन आग्रह गरिरहँदा गाउँ फर्केनेहरुले अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न अझ बढी आवश्यक छ।