काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो । बैठक अहिले जारी छ ।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सबै दलबाट एकएक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुहुनेछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद् चल्न दिएको थिएन ।