काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ। मौद्रिक नीतिले बैङ्कहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनुभयो । राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गर्नुभएको हो ।
आज बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पोलिसी रेट ६.५ प्रतिशत तोक्दा बैंकले ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्ने जिकिर गर्नुभयो । यस्तै जग्गा कारोबार पनि सहज हुने उहाँको भनाई थियो ।
आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने ढुक्क हुन आग्रह गर्नुभयो । सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे पत्रकारको राखेको जिज्ञासा महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको प्रस्टाउनुभयो । उहाँले मनपरी बोल्ने चलन धेरै रहेको बताउँदै प्रमाण बिना यस्तो बोल्न नहुने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टी बैठकमा एउटा कुरा गर्ने अनि बाहिर आएर अर्को हङ्गामा गर्ने भएकाले पार्टी सभापतिले बैठक लाइभ गर्ने निर्णय गरेको बताउनुभयो । पार्टीको बैठक लाइभ गर्ने निर्णयले अहिले राम्रो भएको उहाँको भनाई थियो । तर सधैँ गर्ने नगर्न भन्ने बारे भने आवश्यकता अनुसार निर्णय गरिने उहाँले बताउनुभयो ।