काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । आइतबार(आज) बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसद्मा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद् अवरोध गरेका छन् ।
तर सभामुख देवराज घिमिरेले भने संसद्मा सो विधेयक पेश गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाउनुभयो । ‘त्यसो भएको हुनाले हामी जुन विधिमा थियौं त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हामीले गर्ने संसद्को कारबाही अघि बढाउने तयारीमा थियौं, त्यसैले हाम्रो यो प्रक्रियामा असहमति छ’ उहाँले भन्नुभयो ।
तर सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरूले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताउनुभयो।
तर रास्वपा सांसदहरूले सभामुखले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाइरहे । रास्वपा सांसदहरू सिटबाट उठेर बेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिनुभएको छ।