Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरूद्धको अनुसन्धानलाई थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरूद्धको अनुसन्धानलाई थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, आषाढ १६ २०८०

  • 573
    SHARES

  • भ्रष्टाचारविरूद्धको अनुसन्धानलाई थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीव्रता पाउने बताउनुभएको छ। पोखरामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरुपमा खडा भएको र कुनै पनि सम्झौता नहुने उल्लेख गर्नुभयो।
     
    ‘पछिल्ला केही दिनमा बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौं। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौं नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौं, यसको दूरगामी अर्थ छ।’
     
    भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताउनुभयो। ‘अर्थतन्त्र धराशायी नै हुन्छ कि भन्ने थियो। तर बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गरिनेबारे बोल्नु भएको छ। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’, उहाँले भन्नुभयो । 
     
    पारवहन सन्धि पुनरावलोकन सबैभन्दा महत्त्वपूर्ण निर्णय रहेको उहाँले बताउनुभयो। साथै विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पारवहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो। विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत् व्यापार बढ्छ, लगानीको ढोका खुल्छ। यो आउने पिँढीले सम्झिरहने काम हो।’
     
    प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको दाबी गर्नुभयो। उहाँले छिट्टै आफ्नो चीन भ्रमण हुने र त्यसको तयारी भइरहेको बताउनुभयो। ‘त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो गर्ने कोसिस हुन्छ’, उहाँले भन्नुभयो। वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्दै उहाँले यसमा दलहरू समझदारीका साथ अगाडि बढ्ने बताउनुभयो। 
     
    उहाँले भारतसँग थप हवाई मार्गका बारेमा छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो। चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने उहाँको भनाइ छ।


    शनिवार, आषाढ १६ २०८००३:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij