काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीको जीवनरक्षा र उहाँका माग सम्बोधन गर्न दबाब दिन गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरेकोप्रति नेपाल युथ कंग्रेसले विरोध जनाएको छ । आन्दोलनमा खटिएका अभियन्ताहरूलाई बलप्रयोग गरी धरपकड गरिएकोप्रति उसले आपक्ति व्यक्त गरेको छ ।
‘आज मध्यान्ह १२ बजे माइतीघर मण्डलामा डा. गोविन्द केसीको जीवनरक्षा र उहाँका मागको सम्बोधन गर्न दबाब दिन गरिएको शान्तिपूर्ण आन्दोलनमा अचानक प्रहरीहरू आइ आन्दोलनमा खटिएका अग्रपंक्तिका अभियन्ताहरूलाई निर्ममतापूर्वक समातेर बल प्रयोगगरी भ्यानमा कोचेर महेन्द्र पुलिस क्लब लिएर गइएकोमा हामी नेपाल यूथ कांग्रेस घोर भर्त्सना गर्दछौँ’, युथ कंग्रेसका महामन्त्री महेश दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युथ कंग्रेसले सरकारले प्रजातान्त्रिक दायरा नाघेको बताउँदै पक्राउ परेका अभियन्ताहरुलाई सकुशल रिहाइको मागसमेत गरेको छ ।

‘सामाजिक दूरीकोसमेत ध्यानमा राखी आन्दोलन गरिरहेकै ठाउँबाट जबरजस्ती उठाउनु लोकतन्त्रमाथि हमला मात्र नभइ डा. केसीका लागि उठिरहेका आवाज दबाउन खोजिएको हो’, विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले कतिसम्म प्रजातान्त्रिक दायर नाघिरहेको छ भन्ने कुरा आजको यस घटनाले उदाङ्गो पारेको छ । हामी पक्राय परेका अभियन्ताहरूको तुरुन्त र सकुशल रिहाइको माग गर्दछौँ ।’
