काठमाडौं । विमानस्थलमा जहाज पार्किङ गरिने संवेदनशील एप्रोनलाई सुरक्षाका दृष्टिकोणले संसारभर निषेधित क्षेत्र मानिन्छ । त्यहाँ जानैपर्ने भीभीआईपी भए विमानस्थलस्थित सुरक्षाकर्मीको ‘स्कर्टिङ’ अनिवार्य हुनैपर्छ भने अरू वायुसेवाका कर्मचारी तथा उड्डयनकर्मीले अनिवार्य विमानस्थलबाट पास घाँटीमा झुन्ड्याई चम्किलो र्याम्प ज्याकेट लगाउनै पर्छ ।
तर, नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारी पास र र्याम्प ज्याकेटबिनै फागुन २४ गते जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र एप्रोनमा पुगेको घटनामा ‘सेफ्टी प्रोटोकल’ उल्लंघन गरिएको देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा परेका छन् ।
प्राधिकरणको सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सोमबार कार्यकारी अध्यक्ष अधिकारीलाई ‘र्याम्प सेफ्टी’ को तालिममा पठाउने निर्णय गरेको छ,’ प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले भन्नुभयो, ‘नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निषेधित क्षेत्रमा सुरक्षा प्रोटोकल उल्लंघन गरेकाले उहाँलाई र्याम्प सुरक्षासम्बन्धी ज्ञानको अभाव देखियो । उहाँले प्राधिकरणबाट मान्यता पाएको संस्थाबाट एक हप्ताभित्र कक्षा लिई प्रमाणपत्र बुझाउनु पर्ने छ ।’
र्याम्प सेफ्टी कक्षा लिएको प्रमाणपछि उनलाई जरिवाना तिराउने वा बिना जरिवाना छाड्ने निर्णय गरिने प्राधिकरणले जनाएको छ । उपमहानिर्देशक निरौलाका अनुसार, संवेदनशील क्षेत्रमा र्याम्प ज्याकेट र पासबिना प्रवेश गर्ने उच्च तहको अधिकारीलाई प्राधिकरणले कारबाही गरेको यो पहिलो घटना हो । ‘यसअघि फाटफुट केही वायुसेवाका जुनियर कर्मचारीलाई जरिवाना कारबाही गरिएको थियो तर माथिल्लो तहमा बसेको वायुसेवाको एकाउन्टेबल म्यानेजरलाई नै र्याम्प सेफ्टी उल्लंघनमा कारबाही गरिएको यो पहिलो घटना हो ।’
अन्तर्राष्ट्रिय महिला दिवसका दिन पर्यटनमन्त्री सुदन किराँतीलाई अतिथिका रूपमा जहाजको भर्याङसम्मै पुर्याएका अधिकारीको घाँटीमा पास थिएन भने र्याम्प ज्याकेट पनि लगाएका थिएनन् । राष्ट्रिय ध्वजावाहकको प्रमुख एकाउन्टेबल म्यानेजरका हैसियतले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘अल एरिया पास’ उपलब्ध गराएको छ । तर, त्यस दिन उनले पास घरमै बिर्सेकाले विमानस्थलस्थित टर्मिनल कार्यालयबाट अतिरिक्त दुईवटा पास लिएको प्राधिकरणको जनाएको छ ।
‘अधिकारीले विमानस्थलमा लगाउनुपर्ने एल एरिया पास घरमै बिर्सेकाले उनका विमानस्थलस्थित कर्मचारीले दुईवटा अतिरिक्त अस्थायी पास सुविधा टीडीओ कार्यालयबाट लिएका थिए,’ विमानस्थलका एक उच्च अधिकारीले भने, ‘हामीले सीसीटीभी फुटेजमा हेर्दा उनका कर्मचारीले पास हातमै समातेको देखिन्छ । मन्त्री भीभीआईपी भएकाले उहाँले पास भिर्नुपर्दैन । फेरि उनलाई सुरक्षाकर्मीको स्कर्टिङ थियो ।’
निगम प्रमुख अधिकारीलाई प्राधिकरणले यो घटनालगत्तै उनको पास खोसेर स्पष्टीकरण सोधेको थियो । उनले फागुन २५ गते आफूबाट भूल भएको जनाउँदै अबउप्रान्त संवेदनशील क्षेत्रका लागि बनाइएको नियम पालना गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै माफी मागेका थिए ।
प्राधिकरणले गैरसैनिक हवाई उडान ऐन तथा नियमावलीमा टेक्दै उनलाई कारबाही गर्न निर्देशन दिएपछि सोमबार प्राधिकरणको सेफ्टी स्ट्यान्डर्ड विभागले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई ‘र्याम्प सेफ्टी’ को तालिममा पठाउने निर्णय गरेको हो ।