काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आजबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सम्मेलनमा मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गर्नुभएको छ । मेयर शाहले स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताउनुभएको थियो । उहाँले यसका लागि यसपटकको सरकार केही समय टिकेमा आफूलाई समन्वय गर्न सहज हुने बताउनुभएको छ ।
त्यस्तै उहाँले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत रहनुभएका उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन भन्नुभएको छ । उहाँले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताउनुभयो ।