काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ६ गते दोस्रोपटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताएर र केही दललाई मनाएर प्रचण्ड विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिएपछि सरकार विस्तारको काम सुरु हुनेछ । केन्द्रमा फेरिएको समीकरणका कारण केही प्रदेश सरकारलाई पनि असर गर्ने देखिएको छ ।
अधिकांश प्रदेश सरकार पुस १० गतेको समीकरणअनुसार निर्माण भएका छन् । केन्द्रमा अहिले यो समीकरण बदलिएको छ । जसको बाछिटा सीधै प्रदेशमा पर्ने देखिन्छ ।
नेकपा एमालेको नेतृत्वमा गठन भएका प्रदेश सरकारहरू बदलिएको केन्द्रको समीकरण सँगै संकटमा पर्नेभएका छन् । पुस १० गते एमालेले सात प्रदेशमध्ये चार प्रदेशको नेतृत्व गर्ने मौका पाएको थियो । जसमा सुदूरपश्चिममा विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको थियो । जसको बाछिटा केन्द्रसम्म पुग्यो । त्यसपछि सात दलीय सत्ता समीकरण नै फेरियो । प्रधानमन्त्री प्रचण्डले अहिले अर्को गठबन्धनको नेतृत्व गरिरहनुभएको छ । नेकपा एमाले गठबन्धनबाहिर छ । केही दिनभित्रमा प्रदेश सरकारको समीकरण फेरिने सम्भावना बलियो बनेको छ । तर, कर्णाली प्रदेशमा भने हालकै गठबन्धन जोगाएर जाने कसरत भइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीको भनाइ छ ।
अहिले कोशी प्रदेशमा नेकपा एमाले, मधेश प्रदेशमा जनता समाजवादी पार्टी, बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, गण्डकी प्रदेशमा नेकपा एमाले, लुम्बिनी प्रदेशमा नेकपा एमाले, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । यी प्रदेशका मुख्यमन्त्रीहरू यतिबेला केन्द्रमा छन् । कोही सत्ता जोगाउन दौडधुपमा छन् भने कोही नयाँ सरकारको नेतृत्वका लागि हानथाप गरिरहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूले जनताको पक्षमा काम गरेकोले सबै दलहरूको समर्थन पाइरहने दाबी गर्नुभयो । त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि नामाकरण आफ्नो ठुलो उपलब्धि रहेको दाबी गर्नुभयो ।
मुलुकको शीर्ष तहमा हुने राजनीतिक परिवर्तनले तल्लो तहसम्म छुने गरेको छ । कुनै एक दलले स्पष्ट बहुमत ल्याउने अवस्था नहुँदा स्थिर सरकार बन्न सकिरहेको छैन । सरकार नै स्थिर नबन्दा विकास र समृद्धिका नारा घोषणापत्रमा सीमित हुन पुगेका छन् । पछिल्लो समय त राजनीतिक बेइमानी पनि बढ्दै गएको पाइन्छ । अहिले मुलुकको अर्थतन्त्र धराशायी बनेको छ भने रोजगारीका अवसरहरू गुमेका छन् तर राजनीतिक दल सरकारको रस्साकस्सीमा दौडिरहेका छन् । मुलुकलाई अब उप्रान्त स्थिरता दिएर विकासमा जुट्नु आजको आवश्यकता हो ।