काठमाडौं । सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गरेपछि चौतर्फी विरोध सुरू भएको छ। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।
अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि नै भएको बताउँदै रासायनिक मलमा मूल्य बढाएर जनता मारा काम गरेको आरोप लगाएका छन् ।
उनीहरूले हाम्रो खुसी अन्न र उपज,हाम्रो उत्पादनमा मलको सहज,खेत त जोगियो,मल बिउ कहाँ छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् ।
चेकजाँच नगरी भारतीय तरकारी भित्राएर किसानको उत्पादनलाई महत्त्व नदिने,रासायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यवृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताउनुभयो।
उनीहरूले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलव ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मल बढ्ने देखिएको छ ।