काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार(आज) दुई खेलहरू हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेल हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ । पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ ।
खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो । चर्च ब्वाइज ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । खुमलटार ३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ ।
थ्री स्टार पनि पहिलो जितको योजनामा रहेको छ । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो । थ्री स्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।