काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूविरुद्ध षडयन्त्र भइरहेको बताउनुभएको छ। माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको उहाँको भनाइ थियो ।
सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार(आज) आयोजित कार्यक्रममा काठमाडौंमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्त्वहरू निकै कमजोर छन्, माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ।’
प्रधानमन्त्री प्रचण्डले माओवादीविरुद्ध षडयन्त्र भएको बताउनुभएको छ। ‘हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भएपनि तिनीहरू एक ठाउँमा हुँदा त्यो जबरजस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका षडयन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन् । हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखिएकै कुरा हो,’ उहाँले भन्नुभयो, ‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ, त्यो एउटा शक्ति हो।’
वर्तमान संविधानमाथि हमला भइरहेको पनि प्रचण्डको भनाइ छ । सार्वभौम जनताको संविधानका विरुद्धमा षडयन्त्र भइरहेको बताउँदै उहाँले सबै माओवादी धारका पार्टी एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालगायतका नेताहरूको उपस्थिति थियो ।