काठमाडौं । राष्ट्रपतिको विषय बिरालो लखेटेर पाहुना तर्साउनेजस्तै भइरहेका बेला आज बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । प्रचण्डको भित्री आकांक्षा ५ वर्ष प्रधानमन्त्री आफू नै बन्न पाउनुपर्ने भएकोले पनि राष्ट्रपतिमा सहमति भएको स्रोतले जनाएको छ ।
आज बिहान बसेको तत्कालीन गठबन्धनका शीर्ष चार नेताको छलफलले पुरानै गठबन्धन ब्युँताउने विषयमा छलफल गरेका थिए । पुरानो गठबन्धन ब्युँताउन नेपाली कांग्रेसलाई राष्ट्रपति दिने र बीचमा एक वर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । नेपाली कांग्रेस जसरी पनि आफ्नो पार्टीबाट राष्ट्रपति हुनुपर्ने अडानमा रहेको थियो । आजको आठ दलीय बैठकले कांग्रेसलाई नै राष्ट्रपति दिने सहमति गरेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र सुवास नेम्बाङको नाम अघि सार्नुभएको थियो । ओली–नेपालबीच पार्टी एकता अनि राष्ट्रपति भन्ने विषयमा छलफल समेत भएको थियो । तर नेकपा एकीकृत समाजवादीले पहिला राष्ट्रपति अनि एकता भन्ने अडान लिएको थियो । केही समय अघिमात्रै नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने विषय पनि बाहिरिएको थियो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि जसरी पनि राष्ट्रपति कांग्रेसको हुने दाबी गर्नुभएको थियो ।
एमालेको भोलि बिहान ९ बजे बस्ने बैठकले राष्ट्रपति उम्मेदवारबारे आधिकारिक टुंगो लगाउने जनाएको छ । कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला, राष्ट्रपतिमा आकांक्षी देखिएका छन् ।