काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसद्मा आफूहरूलाई नहेप्न आग्रह गर्नुभएको छ ।
बुधबार(आज) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसद्मा नहेप्न आग्रह गर्नुभएको हो ।
आज नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरूले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाउनुभएको थियो ।
राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताउनुभयो ।
‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं’, उहाँले भन्नुभयो, ‘यो कुरा धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ ।’
आफूहरूलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताउनुभयो । ‘यो व्यवस्था नमान्ने भएको भए हामी जंगल जान्थ्यौं, यही व्यवस्था र यही संविधानभित्र बसेर यो संविधानलाई हामीले बोकेका मूल्य मान्यताभित्र परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर हामी आएका छौं’ उहाँले भन्नुभयो ।
उहाँले अन्तिममा भन्नुभयो, ‘हामीलाई हेप्ने काम, हामीलाई होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् ।’