Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तत्काल पाँच काम गर्न सरकारलाई छाँया श्रममन्त्री डा. संग्रौलाको आग्रह

तत्काल पाँच काम गर्न सरकारलाई छाँया श्रममन्त्री डा. संग्रौलाको आग्रह

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.4K
    SHARES

  • तत्काल पाँच काम गर्न सरकारलाई छाँया श्रममन्त्री डा. संग्रौलाको आग्रह

    काठमाडौं । स्वदेश फर्किन प्रवासमा पर्खि रहेका लाखौं नेपालीहरुलाई महान चाड विजय दशमी अगावै स्वदेश फर्काउने विशेष योजना संचालन गर्न काँग्रेस सांसद डा डिला संगौलाले माग गर्नुभएको छ ।

    झन्डै ७० हजार नेपाली अति महँगो चार्टर्ड उडान शुल्क तिरेर स्वदेश फर्किएपनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ३ लाख नेपालीहरु स्वदेश फर्कन पाउने प्रतिक्षमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

    स्वदेश फर्किन चाहेका मध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा नरहेकालेपनि सर्वोच्च अदालतको आदेश अनुसार उनीहरुलाई तत्काल निःशुल्क स्वदेश फर्काउनु पर्ने उहाँको माग छ ।

    आज प्रेस वक्तव्य प्रकाशित गर्दै डा. संग्रौलाले प्रवासीहरुलाई निःशुल्क फर्काउनु पर्ने आदेश कार्यान्वयन नहुनु खेदजनक भएको पनि उल्लेख गर्नुभएको छ ।

    छाँया श्रम मन्त्री समेत रहनु भएकी डा. संग्रौलाले लेख्नु भएको छ, “नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक संजालसंग सहकार्य गर्न आग्रह गर्दै मैले सम्माननीय प्रधानमंत्री तथा माननीय श्रम मन्त्रीको पटक पटक ध्यानाकर्षण गराएकी छु। त्यस्तै प्रतिनिधि सभामा हामीहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं भने पटक पटक यो विषयलाई जोडदार रुपमा उठाउंदै आएका थियौं। तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मंच पनि बन्द गरिदिएको छ।”

    उहाँले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, श्रम मंत्री रामेश्वर राय यादव, पर्यटन मन्त्री योगेश भट्टराईलाई हिजो पनि सम्पर्क गरेर विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चाँडो नेपाल ल्याउन आग्रह गरेको जानकारी दिनुभएको छ ।

    काँग्रेस नेतृ संग्रौलाले तत्काल पाँच कामगर्न पनि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । उहाँका पाँच सुझाव यस्तो छ ।

    १) कोरोना महामारीका कारण काम गुमाएर लामो समय देखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरि तत्काल निशुल्क उद्धार गरियोस् ।

    २) श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्बोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

    ३) विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ(दिदिबहिनीहरुलाई दशैं अगावै स्वदेश फर्काउन सके निशुल्क, नसके कम शुल्कको उडानको ब्यबस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरि ७ दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निशुल्क क्वारेन्टीनको ब्यबस्था गरियोस् ।

    ४) विदेशको बिकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरि देश बिकासमा उनीहरुको सहभागिता सहितको रोजगारी र स्वरोजगार ब्यापार(ब्यबसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यबस्था गरियोस् ।

    ५) अहिले कोरोना संकट भन्दा पहिले नै दुखद निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

     

     


    बुधवार, भाद्र ३१ २०७७०९:३७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij