काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले अन्तर्राष्ट्रियस्तरको सफ्टवेर र अत्याधिुनिक प्रविधि लागु गर्नेगरी प्रक्रिया सुरु गरेको छ ।
बैङ्किङ क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधि भित्र्याउनका लागि अन्तर्राष्ट्रियस्तरबाट बोलपत्र आह्वान गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकको ५८औँ बार्षिकोत्सवका अवसरमा नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अन्तर्राष्ट्रियस्तरको प्रविधि चाडै नै लागु हुने दावी गर्नुभयो ।
नयाँ प्रविधि लागु भएपछि बैकको सेवा थप छिटो छरितो, प्रभावकारी, विश्वासिलो र सुरक्षित हुने उहाँको भनाई छ । देशभरी अरु बैंकको भन्दा धेरै शाखा भएको, साना तथा मझौला लगानीकर्तामा केन्द्रीत रहेको, सरकारी स्वामित्व र सहयोग रहेको लगायतका कारणले राष्ट्रिय बाणिज्य बैंक अरु बैकभन्दा अब्बल रहेको सिइओ श्रेष्ठले बताउनु भयो ।
पुराना धेरै कर्मचारीले अवकास पाएको र नयाँ कर्मचारी धेरै आएकाले सेवा प्रवाह पनि नयाँ जोश जाँगरका साथ हुने गरेको उहाँको अनुभव छ ।
आफ्ना सेवाग्राहीहरुको गुनासा र समस्या सुन्न र समाधान गर्न आफू सधै तत्पर रहेकाले कुनै पनि समस्या लामो समयसम्म भोग्नु नपर्ने उहाँले दावी गर्नुभयो ।
उहाँका अनुसार बैंकले अहिले ३८ लाख ५० हजारलाई सेवा दिएको छ भने यस बर्ष १२.५ प्रतिशत लाभांश बाँढ्ने भएको छ ।
गर्त आर्थिक बर्षमा दुई करोड २९ लाख खुदा नाफा कमाएर बाणिज्य बैंकहरु मध्ये दोस्रो धेरै नाफा कमाउने बैंक बन्न सफल भएको पनि सिइओ श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकले २६५ शाखा कार्यालय, ४६ एक्सटेन्सन काउन्ट तथा ९५ शाखारहित बैङकिङमार्फत अत्याधुनिक बैङकिङ सेवा प्रवाह गर्दै आएको बैंकले बार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सातै प्रदेशमा प्रादेशिक कार्यालयहरूमार्फत सेवालाई थप प्रभावकारी बनाइएको र व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरूप चालु आ.व.भित्र शाखाको सङ्ख्या ३०० पु¥याउने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो । लघु, साना, कृषि तथा सहुलियपूर्ण कर्जा लगानीमार्फत निम्न बर्गको समूदायलाई सेवा केन्द्रीत गरेको बैंकले जनाएको छ ।
बैंकले व्यापार, उद्योग, कृषि, पर्यटन, जलविद्युत् सेवा, होटल लगायतका व्यावसायिक कर्जा; तथा आवास, गाडी, सेयर, सुन कर्जा, शिक्षक कर्जा, राष्ट्र सेवक कर्जा जस्ता उपभोक्ता कर्जा योजनाअन्तर्गत यही पुस मसान्तसम्ममा १ लाख ९० हजारभन्दा बढी ग्राहकलाई २३५ अर्ब ५३ करोड रुपैया कर्जा प्रवाह गरेको छ ।
साथै नेपाल सरकारको नीति तथा कार्यक्रमबमोजिम आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न महिला उद्यमशील कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा लगायतका विभिन्न सहुलियतपूर्ण कर्जा लगानीमा बैंकले अग्रणी भूमिका खेलेको पनि सिइओ श्रेष्ठले जानकारी दिनुभयो ।