काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार(आज) मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो।
हिजो प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका नेता शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शर्माले माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ गरी जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।
एमाले र माओवादी केन्द्रले एक÷एक जना सांसदलाई सरकारमा पठाएका छन् । माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बन्नुभएको छ। उहाँहरूलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
माओवादी केन्द्रका शाही मुगु प्रदेशसभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेशसभा (२) बाट निर्वाचित हुनुभएको थियो । शाह र शाहीलाई मुख्यमन्त्री शर्माले मन्त्रीमा नियुक्त गर्नुभएको हो ।