काठमाडौं । मंसिर ४ गतेको निर्वाचनअघि नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुहुने भएको छ ।
एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ । आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसालले औपचारिक रूपमा पार्टी प्रवेशको तयारी गरिरहनुभएको छ ।
मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
एकीकृत समाजवादीले वापन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल चलाइरहेको छ ।