काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ ?
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उहाँले संसद विघटन गर्न पाइन्छ भनेको सुनेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो, ‘यो मान्यता यो गठबन्धनको हो ? यदि यो हो भने खतरनाक संकेत दिन्छ ।’
ओलीले बेलायत, भारत, जापानमा पनि संसद विघटन हुने गरेको र ०५९ सालमा शेरबहादुर देउवाले पनि संसद विघटन गरेको उल्लेख गर्नुभएको थियो । त्यसमा पनि अध्यक्ष नेपालले प्रश्न गर्नुभयो, ‘के यो ब्रिनेट हो ? के यो भारत हो ? के यो पुरानो नेपाल हो ? के यो २०५१ सालको सरकार हो ? के यो ०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो ? होइन ।’
०७२ को संविधान बनाउने क्रममा विगतको अनुभवका आधारमा शासकीय प्रणालीमा धेरै सुधार गरेको र विगतका त्रुटिहरु नदोहोर्याउने प्रतिवद्धता गरेको भन्दै उहाँले प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न नपाउनेमा जोड दिनुभयो ।
गठबन्धनले विगतको गल्तीबाट शिक्षा लिएको होला, आत्मालोचना पनि गरिसकेको होला भन्ने लागेको, तर संसदमा गर्जिएको देख्दा अचम्म लागेको उहाँको भनाइ छ ।
प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार संविधानले नदिएको र सर्वोच्च अदालतले पनि व्याख्या गरिसकेको भन्दै अध्यक्ष नेपालले त्यस्तो गोलचक्करमा नफस्न आग्रह समेत गर्नुभयो ।