काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ राजनीतिक दलका उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गरेका छन् । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो ।
निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । यसका लागि आयोगले आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि डडेलधुराबाट मनोनयनपत्र दर्ता गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयनपत्र दर्ता गर्नुभएको छ । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गर्नुभएको छ । उम्मेदवारी मनोनयनपछि पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफूले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताउनुभएको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको क्षेत्र–१ बाट मनोनयन दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्ता गराएपछि बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा मिलाउनु पर्ने भएकाले चुनाव जित्ने अरू सक्षम नेतालाई टिकट दिन नसकेको भन्दै दुख पोख्नुभयो ।
उम्मेदवारी दर्ता गराउँदै विभिन्न दलका उम्मेदवारहरूले आफूलाई विजयी गराउन अपिल गरेका छन् । नेकपा एमालेका नेता रामवीर मानन्धरले भने आफूलाई पार्टीले उपेक्षा गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ ।
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने समय असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।