काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाटै निस्किन रोक लगाइएको छ। आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर सरकारले जबरालाई निवासबाट निस्कन रोक लगाएको हो।
जबराले माथिको आदेश भन्दै निवासबाटै निस्कन रोक लगाइएको बताउनुभयो। ‘म अदालत जान निस्कँदै थिए। निवासको गेटमै तालाबन्दी गरी निस्कन अवरोध गरियो।’ उहाँले भन्नुभएको छ ।
सरकारले जबरालाई सर्वोच्च जान नदिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
उहाँले महाअभियोग शनिबार रातिबाटै निष्क्रिय भइसकेकाले आफू नियमित काममा हाजिर हुन पाउनुपर्ने बताउनुभएको छ । ‘मलाई अदालत जान नदिनु भनेको नजरबन्द नै हो।’ उहाँले भन्नुभएको छ ।
जबराले आफ्नो कार्यकाल मंसिर २७ गतेसम्म रहने जिकिर गर्नुभएको छ ।
जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन बार एसोसिएसनलगायतका वकिलहरू अदालत परिसरमा धर्ना दिइरहेका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएको भन्दै जबराले आइतबार सर्वोच्च पुग्ने बताउनुभएको थियो । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो।