काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ४ मंसिरको निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नुभएको छ ।
आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघको बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा उहाँले निर्वाचनपछि एमाले सरकारमा जाने र अपराधी र फटाहालाई तह लगाउने दावी गर्नुभयो ।
‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ’ उहाँले भन्नुभयो ।
नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाउनुभयो ।