काठमाडौं । घरेलु टोली केन्याले पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो ।
केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे । यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए ।
राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे शून्य रनमा आउट भए । नेपालका सोमपाल कामीले २ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा रहेको छ । यस खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।
पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी९ट्वान्टी भदौ १० गते , तेस्रो टी–ट्वान्टी भदौ १२ गते, चौथो टी९ट्वान्टी भदौ १३ गते र पाँचौँ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ । पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।