काठमाडौं । नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले आगामी संघ र प्रदेशको निर्वाचनमा ९३ (६० प्रतिशत) सिट चाहिने बताउनुभएको छ । पार्टीभीत्र पनि समायोजन गर्नुपर्ने भएकाले कांग्रेसले अब ६० प्रतिशत भन्दा कम नलिने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले जुन उद्देश्यले गठबन्धन बन्यो त्यहि पूरा गर्नको लागि पनि सिट बाँडफाँडको कुरा मिल्ने नेता श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
श्रेष्ठले भन्नुभयो, ‘गठबन्धनको सरकार छ, सरकारलाई टिकाउनुपर्ने बाध्यता पनि छ । गठबन्धन जुन उद्देश्यले बन्यो त्यो पूरा गर्न पार्टीहरु मिल्नुको विकल्प छैन, यहि बाध्यताका कारणले सिट बाँडफाँटको कुरा मिल्छ । माग गर्न जति पनि पाइयो तर समायोजन गरेर अगाडि बढ्नेमा सबै सहमत हुनुहुन्छ ।’
नेता श्रेष्ठका अनुसार सिट बाँडफाँटका लागि ‘भागबण्डा मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो बसेको बैठकमा सिट बाँडफाँटबारे सहमति नजिक पुगेको भनिएको कार्यदलले आज कुनै निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो ।
हिजो बैैठकमा २०७४ सालको चुनावमा जितेका सिटहरु सम्बन्धित दलले राखेर बाँकी सिटमा भागबण्डा गर्ने छलफल भएको थियो । बाँकी सिटमा नेपाली कांग्रेसले ६० प्रतिशतले लिने र अरु दलले ४० प्रतिशत पाउने विषयमा छलफल भएको थियो ।
कार्यदलमा कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।