Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामर्थ्य भन्दा ठुलो डिमाण्ड, सिट बाँडफाँटमा रस्साकस्सी, कसलाई कति ? (खास खबर)

सामर्थ्य भन्दा ठुलो डिमाण्ड, सिट बाँडफाँटमा रस्साकस्सी, कसलाई कति ? (खास खबर)

  • शनिवार, भाद्र ४ २०७९

  • 1.2K
    SHARES

  • सामर्थ्य भन्दा ठुलो डिमाण्ड, सिट बाँडफाँटमा रस्साकस्सी, कसलाई कति ? (खास खबर)

    काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि चुनावी तालमेल गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलले हालसम्म कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठित कार्यदलले छलफल र बहस गरिरहेको भएपनि अन्तिम निर्णय शीर्ष नेताहरूकै हातमा छ ।

     सुरुवाती चरणमा कुन दलले कति सिटको आकांक्षा राख्छन् सोही अनुसार नयाँ भिजन बनाउनका लागि गठबन्धन दलहरूले कार्यदल बनाएका हुन् । पाँच दल सम्मिलित गठबन्धनमा भर्खरै नेपाल समाजवादी पार्टी पनि मिसिएको छ । आफ्नो अस्तित्वको लडाइँमा रहेका मुलुकका शीर्ष नेता र दलले सिद्धान्त र उद्देश्य बिर्सेर चुनावी मोर्चा बनाइरहेका छन् । 

    दलहरूबीच चुनावी सिट बाँडफाँटमा सजिलै सहमति जुट्ने सम्भावना कम रहेको छ । कांग्रेसले बहुमत सिटको दाबी गर्दा यो सम्भव देखिँदैन, त्यसका लागि कांग्रेसनै लचिलो बन्नुपर्ने देखिएको छ । 

    कांग्रेसभित्र पनि संस्थापन र इतर पक्षको मतभेद कायम रहेको छ, गठबन्धनमा गएपछि चुनाव जितिने सम्भावनाले पनि धेरै आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले लामो समय प्रतिस्पर्धी रहेका दलहरूमा तालमेल हुन समय लाग्ने बताउनुभएको छ । उहाँले स्थानीय तह निर्वाचन भन्दा संघमा गठबन्धन बलियो हुनुपर्ने तर्क राख्नुभयो ।

    छलफल र बहसले निष्कर्षमा पुगिने बताउँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हतार गर्न आवश्यक नरहेको बताउनुभयो । 

    गठबन्धन दलभित्र हैसियत र सामर्थ्य भन्दा बढीको आकांक्षा राख्दा सहमति जुट्न सकस भइरहेको छ । यद्यपि कुनैपनि दलले आफ्नो माग प्रस्तुत गरेका छैनन् । गठबन्धन गर्दा धेरै नेताहरूले पालो नपाउने र विद्रोह गर्ने सम्भावना पनि उत्तिकै बढेको छ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सिट बाँडफाँटको मोडालिटीबारे भोलिसम्म टुंगो लाग्ने र त्यसै अनुरूप दलहरूले आफ्नो माग प्रस्तुत गर्ने बताउनुभयो । 

    एमालेका विरुद्ध गठबन्धन गरिरहेका दलहरूलाई स्वतन्त्र उम्मेदवारले पनि चुनौती दिइरहेको छन् । पटक पटक बहुमत ल्याएर राजनीतिक स्थायित्व कायम नभएको मुलुकमा अबको गठबन्धनले राजनीतिक स्थायित्व होला त ? यो प्रश्न सबैमाझ खडा भएको छ । राजनीतिक भागबण्डा र पदको लोभले जे पनि गर्न तयार हुने नेताका कारण सिंगो मुलुकको प्रणालीलाई असर गरिरहेको छ । 


    शनिवार, भाद्र ४ २०७९०७:५९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij