काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार(आज) बस्दै छ । गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजेका लागि गठबन्धनको बैठक बोलाउनुभएको हो ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको जानकारी दिनुभयो ।
आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँटको विषयमा भने सहमति भइसकेको छैन ।
यसअघि गत साता बसेको गठबन्धन बैठकले नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वको कार्यदल बनाएर सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी दिएको थियो । कार्यदलमा पाँच दलका ११ नेता सम्मिलित छन् । तर कार्यदलले पनि सिट बाँडफाँडको विषयलाई गति दिन सकेको छैन ।
सिट बाँडफाँटकै विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनले कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटी तय गर्न जिम्मेवारी दिएको छ भने भदौ पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाउने गठबन्धनको सहमति छ ।
कार्यदलको यसअघि दुई पटक बैठक बसेर सिट बाँडफाँडका विषयमा छलफल गरिएको छ । आज गठबन्धनका शीर्ष नेताको बैठकमा त्योसहित समसामयिक राजनीतिक विषयमा छलफल हुन सक्नेछ ।