काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने बताउनुभएको छ । उहाँले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।
प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’
उहाँले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताउनुभयो । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’
उहाँले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा पनि जोड दिनुभएको छ । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको बताउनुभयो । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको उहाँले प्रस्ट पार्नुभएको छ ।