काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताउनु भएको छ ।
विश्व बाघ दिवसका अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै उहाँले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय रहेको बताउनु भएको हो ।
‘हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघको चोरी सिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ,’ उहाँले भन्नुभएको छ ।
वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक रहेको उहाँको भनाइ छ ।
राष्ट्रपति भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पु¥याउनु पर्ने बताउनु भएको छ ।
नेपालले करिब एक दशक अघि रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२० भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो । जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको थियो । हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेको छ ।