काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताउनु भएको छ ।
बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय बृहद भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताउनु भएको हो ।
‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना बनाएर निर्वाचन पर सार्ने खतरा छ’, अध्यक्ष ओलीको भनाइ छ । उहाँले समयमा निर्वाचन हुनुपर्ने भन्दै त्यो निर्वाचनबाट राष्ट्रवादी सरकार बन्नुपर्ने बताउनुभयो।
उहाँले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भएको दावी गर्नुभयो ।
ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभयो ।