काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति विभिन्न टिका-टिप्पणी भइरहेका छन् ।
प्रचण्डको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग भएको भेट र प्रचण्डलाई भारतीय प्रधानमन्त्रीले भेटका लागि समय नदिएको विषय राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
प्रचण्डको भ्रमणप्रति विशेषतः प्रमुख प्रतिपक्षी एमाले सशङ्कित नै हुन पुग्यो । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले प्रचण्डको भ्रमणले आशङ्का जन्मिएको टिप्पणी गर्नुहुन्छ ।
यस्तै एमाले नेता भीम रावलले आज ट्विट गर्दै प्रचण्डको भारत भ्रमणले नेपालको कच्चा कूटनीति उदाङ्गो भएको आरोप लगाउनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको विषयलाई लक्षित गर्दै उहाँले नेपालीको स्वाभिमानमा आँच पुगेको दाबी गर्नुभएको हो ।
एमाले यसो भनिरहँदा माओवादी केन्द्रका नेता एवं प्रचण्डको भारत भ्रमण दलका सदस्य रमेश मल्लले भारतीय प्रधानमन्त्री मोदीले भेट नदिएको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।
साथै उहाँले आगामी पाँच वर्षका लागि प्रचण्ड र आरजु देउवाबिच आलोपालो प्रधानमन्त्री हुने भन्ने कागज फर्जी भएको भन्दै, दुष्प्रचार गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।
प्रचण्डको भारत भ्रमणबारे टिका-टिप्पणी जारी रहेको बेला कूटनीतिज्ञ डा. लोकराज बरालले भ्रमण सकारात्मक भएको बताउनुहुन्छ । भारतीय प्रधानमन्त्रीले भेट नदिएपछि स्वदेश फर्किएका प्रचण्डको भारत भ्रमण अपूरो भयो भन्ने विषयलाई बरालले भ्रमण सकारात्मक नै मान्नुपर्ने बताउनुभएको हो ।
माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरिएको आरोप लगाउनुभयो।
माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सम्झौता गर्न दिल्ली जान नपर्ने गुरुङको तर्क छ ।
राष्ट्रियसभा बैठकमा बोल्दै, माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले अध्यक्ष दाहाल र राणाबीचको भेटमा बाहिर आएजस्तो सहमति हुनै नसक्ने जिकिर गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो स्वदेश फर्किएपछि आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताउँदै एमाले नेताहरूले लगाएको जस्तो आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको थियो ।