काठमाडौं । केही केन्द्रीय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताउनुभयो ।
शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भन्नुभयो, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उहाँको भनाइ छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो । कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उम्मेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताउनुभयो ।