काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भुमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले यस्तो बताउनुभएको हो। उहाँले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताउनुभयो ।
मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जन गर्न सकेमात्र देश समृद्धिको दिशातर्फ अघि बढ्ने तर्क गर्नुभयो। उहाँले राज्यका नीति, ऐन, कानुनहरूलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखि कार्यहरु गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो। उहाँले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नुपर्ने बाध्यता भएपनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताउनुभयो ।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताउनुभयो। उहाँले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गर्नुभयो ।