काठमाडौं । सत्तारुढ दल नेकपाको महाधिवेशनमा चुनाव नहुने भएको छ । पार्टी एकिकरणपछिको पहिलो महाधिवेशन भएकाले चुनाव नगर्ने सहमती भएको नेताहरुले बताएका छन् ।
महाधिवेशनमा चुनाव नगर्ने सहमती पार्टी एकताकै बेलामा भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले भन्नुभयो, “नेकपाको महाधिवेशन आगामी चैतमा हुन्छ, त्यो सहमतीको महाधिवेशन हुनेछ ।”
उहाँले महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन नहुने र सहमतीकै आधारमा केन्द्रीय कमिटि गठन हुने पनि स्पष्ट पार्नुभयो । उहाँको भनाई अनुसार नेकपाको आगामी केन्द्रीय कमिटि पनि शिर्ष नेताहरुले भागबण्डाका आधारमा बनाउने भएका छन् ।
महाधिवेशनमा निर्वाचन भएर, पदको बाँडफाडमा झगडा भएर पार्टी फुट्छ भन्ने अनुमान गरेकाहरुले त्यस्तो कल्पना पनि नगरे हुने महासचिव पौडेलको भनाई छ । “कतिपयले नेकपा अहिले नै फुट्छ भनेका थिए, त्यो असंभव भइसक्यो, अव कतिपयलाई महाधिवेशनमा फुट्छ भन्ने आशा गरेर बसेका छन्, त्यो पनि दिवा सपना हो, सहमतीमा नेतृत्व चयन हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले नेकपा फुट्छ र खाउला भनेर बस्नेहरुको के हालत छ भनेर प्रतिप्रश्न गर्नुभयो । पार्टी भित्र थप विवाद उत्पन्न हुन नदिनका लागि महाधिवेशन सहमतीमै गर्ने सहमती एकताकै बेलामा भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले अन्यौलमा परेको नेकपा स्थायी कमिटिको बैठक अरुले सोँचेभन्दा चाडै बस्ने र केन्द्रीय कमिटिको बैठक पनि आवश्यकता अनुसार बस्ने जानकारी दिनुभयो । नेकपाका कूल ४४४ केन्द्रीय सदस्य मध्ये १५२ जनाले बैठकको माग गर्दै अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएको आज २५ दिन भइसकेको छ ।
नेकपाको विधानको धारा ५९ (क) बमोजिम एक–चौथाई सदस्यले बैठकको माग गरे ३० दिनभित्र बैठक बलाउनुपर्ने प्रावधान छ । तर महासचिव पौडेलले भने अव पाँच दिन भित्रमा बैठक बस्ने संभावना नरहेको संकेत गर्नुभयो ।
पार्टी भित्रको विवाद समाधानका लागि खाका तयार पार्न गठित कार्यदलका संयोजक समेत रहनु भएका पौडेलले केन्द्रीय मन्त्री र मुख्यमन्त्रीहरु परिवर्तन गर्ने, उच्चस्तरीय संयन्त्र बनाउनेलगायतका विषय प्रतिवेदनमा नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र मन्त्री बनाउने विषयमा पनि कुनै छलफल नभएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिने विषय पार्टीको औपचारिक एजेण्डा कहिल्यै नबनेकाले छलफलको आवश्यकता नै नभएको तर्क गर्दै उहाँ दुवै पदमा यथावत रहने बताउनुभयो ।