काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गर्नुभएको छ ।
आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताउनुभएको छहो ।
उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्थाको माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताउनुभयो । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्याउने गरी भन्ने भाषा प्रयोग गरिएको बताउनुभयो । उहाँले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटिहरू सच्याउन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले दिवा खाजा कक्षा ६ सम्मका विद्यार्थीका लागि थपिएर आएको हुँदा खुसी व्यक्त गर्नुभएको छ । कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने आफूहरूको प्रस्तावलाई बजेटमा नसमेटिएको उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुराहरू डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो ।