काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना मागहरु राखी बुझाएको ज्ञापनपत्रको आज फलोअफ् गरेको छ । बिहान प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।
लोसपाको प्रधानमन्त्रीसँग तारन्तार भेट भइरहँदा त्यहाँ केही पाकिरहेको धेरैले अड्कल लगाउन शुरु गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री बन्न आग्रह भइरहेको बताएका थिए । यो विषय बाहिरिएपछि प्रधानमन्त्री देउवा आफू कसरी सुरक्षित हुने भन्ने तयारीमा जुटेका छन् ।
अहिलेको अवस्थामा आएर लोसपा सरकारमा जानका लागि तम्सिनु उसको मात्रै ईच्छा नभएर प्रधानमन्त्रीले नै बोलाएको स्रोत बताउँछ । सरकारलाई चेक एण्ड ब्यालेन्समा राख्नका लागि प्रधानमन्त्रीलाई लोसपा सहज हुने आंकलन हुन थालेको छ । लोसपा भने आफ्ना माग पूरा नभए सरकारमा नजाने अडानमा छ । यद्यपि, तत्काल नागरिकता विधेयक ल्याउने र समस्यामा हल खोजिने प्रधानमन्त्रीले आश्वासन दिसकेका छन् ।
गठबन्धन सरकारलाई समर्थन जनाएको लोसपा सरकारमा गएपछि केही दलका मन्त्री सरकारमा जान नपाउनेजस्तै देखिएको छ । लोसपालाई सरकारमा ल्याएर नेकपा एस र माओवादी केन्द्रलाई ब्यालेन्समा राख्ने अहिलेको रणनीति रहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।