काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले अध्ययन नगरी साइकल लेन नबनाइने बताउनुभएको छ ।
शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्याली कार्यक्रममा बोल्दै मेयर शाहले महानगरमा साइकल लेनबारे अध्ययन गरिने बताउनुभएको हो ।
स्थानीय तह निर्वाचनअघि साइकल अभियन्ताहरूले मेयरका प्रत्यासी उम्मेदवारहरूलाई साइकल लेन बनाउन पहल गर्नेबारे प्रतिबद्धता जनाउनुभएको थियो । तर अभियन्ताहरू शाहसमक्ष नपुगेको भन्दै शाहले व्यंग्य समेत गर्नुभएको थियो।
सो प्रतिबद्धता पत्र लिएर आफूमाझ पनि आउन शाहले अभियन्तालाई अनुरोध गर्नुभएको छ ।
‘भोलिका दिनमा प्रतिबद्धता पत्रहरू ल्याइदिनु होला। र हामी के गर्न सक्छौँ काठमाडौं महानगरपालिकामा हप्ताको एक दिन साइकल डे बनाउन सक्छौँ कि, साइकलको लागि डेडिकेटेड लेनहरू बनाउन सक्छौँ कि,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि अध्ययन गराएर, अध्ययन नभईकन हुँदैन।’
अध्ययन नगरी लेन बनाएमा दुर्घटनाको सम्भावना हुने भन्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘अध्ययन हुनुपर्छ किनभने जुन बाटोमा गाडी हिँड्छ सँगसँगै साइकल हिँडाउन सेक्युरिटी इस्यू हुन्छ। दुर्घटना हुन सक्छ। बाहिरतिर साइकल लेन भनेको छुट्टै हुन्छ। फुटपाथजस्तै हुन्छ। अनि बल्ल सुरक्षित महसुस हुन्छ,’ उहाँले भन्नुभयो, ‘किनभने साइकलको स्पिड कम हुन्छ। गाडीको स्पिड धेरै हुन्छ, दुर्घटना हुने सम्भावना धेरै हुन्छ।’
प्रतिबद्धता पत्र लिएर आएपछि अध्ययन गरिने उहाँले बताउनुभएको छ ।