काठमाडौं । हरेक खुसी र सफलतामा परिवार, साथीभाई, आफन्तहरुको साथ प्रत्यक्ष/अप्रत्यक्ष रहन्छ नै । सबैको उर्जाशील सहयोगले कुनैपनि व्यक्ति सफलताको शिखर चुम्न सक्छ । विवाहित व्यक्तिको हकमा धेरैजसो सफलतामा श्रीमतीको नजिकबाट थप साथ मिलेको हुनुपर्छ । यस्तै भएको छ काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई ।
धेरैजसो विवादित बन्न नचाहाने र सुक्ष्म रुपमा अध्ययन गरेपछि मात्रै बोल्ने शैली समातेका बालेन्द्रको यो जितमा परिवारले पनि खुसी बाँडेको छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको ।
उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’
‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् ।
