काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भीम रावलले दार्चुलामा भारतीय पक्षले तटबन्ध बनाइरहँदा समेत सरकार मौन बसेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतीय पक्षले एकपक्षीय तटबन्ध बनाउँदा पनि नेपाल सरकार नबोलेको बताए । उनले भारत सरकारले एकतर्फी डोजर चलाएर महाकाली चेप्ने र दार्चुला जिल्लालाई खतरामा पार्ने काम भइरहेको भन्दै गृहमन्त्री र प्रधामन्त्रीले संसद्मा उभिएर यसमा जवाफ दिनुपर्ने माग गरे ।
“दार्चुला जिल्लामा भारतीय पक्षबाट अन्तर्राष्ट्रिय कानुनविपरीत तटबन्ध बनाउने काम भइरहेको छ । यस्ता काम बन्द हुनुपर्छ भनेर आवाज उठाउँदा सरकार मौन छ,” उनले भने, “देश घात हुँदा पनि केही नबोल्ने अलोकतान्त्रिक सरकार ठहरिन्छ । प्रधानमन्त्री र गृहमन्त्री यहाँ आएर जवाफ दिनुपर्छ ।”
उनले एमसीसी अनुमोदन भएपछि के–के काम भइसक्यो थाहा पाउनुपर्ने बताए ।